मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सव सम्पन्न

Mechi Eye Hospital Annual Day

माघ २६ गते २०८० मा भएको कार्यक्रम मा मेची आँखा अस्पताल सङ सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षता तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य चण्डीराज ढकालले गर्नुभएको थियो । ।कार्यक्रममा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले मेची आँखा अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मेची आँखा अस्पतालमा सन् २०२३ मा बहिरंग सेवा अन्तरगत १ लाख ९७ हजार ८ सय ७२ जना तथा आउटरिच (शिविर) कार्यक्रम अन्तरगत ९७ हजार २५ जना गरि जम्मा २ लाख ७६ हजार ८ सय ९३ जना बिरामीहरूको आँखा परिक्षण गरिएको , त्यसैगरी शल्यक्रिया सेवातर्फ ३४ हजार ५ सय ४५ जना र बाह्य कार्यक्रम अन्तरगत १ हजार ८ सय १३ जना गरि जम्मा ३६ हजार ३ सय ५८ जना विरामीहरुको आँखाको शल्यक्रिया गरिएको मध्ये २१ हजार ९ सय ५७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो।त्यस्तै मेची आँखा अस्पतालमा अतिविशिष्टकृत सेवाहरू तर्फ रेटिनाको शल्यक्रिया ७ हजार ४ सय २, कोर्निया २ हजार ८ सय ५, अकुलोप्लास्टिक ३ हजार ५ सय ६७, र अन्य शल्यक्रिया ६ सय २७ वटा भएको थियो। त्यस्तै नेपाल सरकार सँगको सम्झौता अनुरूप स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत एक वर्ष भित्र ५१ हजार ९ सय १५ जना बिरामीहरूले आँखा परिक्षण गराएको र स्वास्थ्य बिमा कार्यक्रम मार्फत ५ हजार ६ सय ६१ जनाले आँखाको शल्यक्रिया गरिएको थियो।त्यसैगरी स्क्रिनिङ क्याम्पबाट रेफर भएर आएका विपन्न, वेवारिसे र असहाय ४ हजार ७ सय ५६ जना बिरामीलाई विभिन्न सेवाहरू बाट गत वर्ष ५३ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सुविधा प्रदान गरिएको थियो ।

अधिकतम बिरामीहरूलाई सहज उपचार सेवा प्रदान गर्न विभिन्न स्थानमा स्थापना गरिएको शाखाहरूमा भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई निरन्तरता दिदै आएको मेची आँखा अस्पतालले भद्रपुर आँखा उपचार केन्द्रमा अन्तरंग विभाग अन्तरगत बिरामी वार्ड भवन निर्माण गरेको छ भने मेची आँखा अस्पतालले र्कोनिया तथा रिफ्राक्टीभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टिक, अर्थोपेडिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू खरिदका लागि लगानी गरिएको थियो ।त्यस्तै मेची आँखा अस्पतालमा पब्लिक प्राइभेट पार्टनरसिप अनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा लेजर रिफ्लेक्टिभ सर्जरी युनिटको स्थापना गरिएको छ भने विपी कोईराला लायन्स सेन्टर फर अफ्थाल्मिक स्टडिजसँगको सहकार्यमा अतिविशिष्टकृत सेवाको लागि आवश्यक दक्ष जनशक्ति विकास गर्नको लागि फेलोसिप कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको र त्यसका लागी इन्टेरियर सेग्मेन्टमा १८ जना, सर्जिकल रेटिनामा ८ जना, मेडिकल रेटिनामा २ जना र अकुलोप्लास्टिकमा २ जना गरि ३० जना नेत्र विशेषज्ञहरूले तालिम गरिएको थियो।

मेची आँखा अस्पतालले २७ औं वार्षिकोत्सवको अवसर पारेर कर्निया एण्ड रिफ्याक्टिक युनिट सेवा , पिडियाट्रिक आई क्लिनिक र अर्थोप्टिक्स सेवा शुरु गरेको थियो । ती सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनवहादुर वस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा टिचिङ हस्पिटल विपी केएलसीओस आँखा विभाग प्रमुख प्राध्यापक डाक्टर मिनु चौधरी, नेपाल आँखा बैंकका निर्देशक शंख तोयना, राष्ट्रिय बिमा बोर्डका सदस्य लोलिम लिम्बुलाई सम्मान गरिएको थियो ।त्यसैगरी मेची आँखा अस्पतालमा कार्यरत कर्मचारीहरू मध्ये डाक्टर इशा विष्ट, आउटरिच (शिविर) कार्यक्रम कोअर्डिनेटर कविता कार्की कडरिया, श्रवण सरदार, मन्जुरी राई, रुद्र मगर, दुर्गेश पासवान, देवी राई, सर्मिला श्रेष्ठ, सुस्मिता चौलागाईँ र कमला राजवंशीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । सेवाकेन्द्र मध्ये भद्रपुर सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रुपमा सम्मान गरिएको थियो भने मेची आँखा अस्पतालमा कार्यरत अवकास प्राप्त कर्मचारीका रुपमा गणेश राय, लक्ष्मण काफ्ले, वुद्धि तामाङ, इष्टवहादुर ठटाल, कटकवहादुर वस्नेत, एल वहादुर गौतमलाई सम्मान सहित विदाई गरिएको थियो ।त्यसैगरी आँखा दान गर्ने स्व. सपना भट्टराई, विष्णुप्रसाद रिजाल,धनन्जय गौतम, रामवहादुर गुरुङ , तीलरुपा चिमरिया, रामप्रसाद सापकोटा, योगमाया खनाल, खडानन्द वाग्लेका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि वस्नेत , सम्मानित डाक्टर मिनु चौधरी, डाक्टर किशोर प्रधान, कोशी प्रदेशका प्रदेश सभा सदस्य एकराज कार्की, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, वेलका नगरपालिकाका प्रमुख अशोक कार्की, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमति राजवंशी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, सामाजिक व्यक्तित्व लोकवन्धु कन्दङ्वालगायतले शुभकामना मन्तव्य रख्नुभएको थियो । ।

कार्यक्रमको सञ्चालन मेची आँखा अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले गर्नुभएको थियो ।